चितवन – भरतपुर अस्पतालमा प्रसुती सेवा लिने महिलाले यातायात खर्च बापत दुई हजार रुपैयाँ पाउन थालेका छन् । सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका अनुसार उक्त रकम पाएका हुन् ।
भरतपुर अस्पतालले जेठ १ गतेदेखि प्रसुती लिएका महिलालाई जनही दुई हजार रुपैयाँ नगद दिन थालेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । त्यस्तै, चार वटा पूर्व प्रसुति जाँच कुनै पनि सरकारी स्वास्थ्य संस्थामा गराएको रेकर्ड भएमा थप ८०० रुपैयाँ पनि दिइने उनले बताए ।
अस्पतालले यसअघि प्रसुती सेवा लिने महिलालाई एक हजार रुपैयाँ यातायात खर्च दिने गरेको थियो । सरकारले हिमाली जिल्लामा प्रसुति सेवा लिनेलाई तीन हजार, पहाडी जिल्ला, भित्रि मधेषका जिल्ला र काठमाडौँ उपत्यकाका जिल्लाका महिलालाई दुई हजार रुपैयाँ र तराई जिल्लाका महिलालाई एक हजार रुपैयाँ यातायात खर्च दिने निर्देशिका बनाएको छ ।