काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद वाग्लेले नीति तथा कार्यक्रम केवल कर्मकाण्डमा मात्रै अल्मल्लिएको टिप्पणी गरे । उनले नविनता, ऊर्जा, प्रेरणा र महत्वकांक्षाको कसिमा उभिएर नीति तथा कार्यक्रम अझ राम्रो ल्याउन सकिने बताए ।
सांसद वाग्लेले जेठमा ठूलो आकारको बजेट ल्याउने र माघमा चुपचाप घटाउने गरिएको भन्दै यसपालि यथार्थपरक बजेट ल्याउन सरकारलाई आग्रह गरे । त्यसैगरी पूर्वाधारको मोडलमा पनि पुनःविचार गर्नुपर्ने उनको भनाइ छ ।