काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदनप्रति आपत्ति जनाएका छन । प्रतिवेदन दोषीलाई उम्काउने र निर्दाेषलाई फसाउने गरी तयार पारिएको भन्दै महासचिव पोखरेलले आपत्ति जनाएका हुन । महासचिव पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक अडिओ भिडिओमा अभियुक्तहरूले नाम लिएका व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याइएको टिप्पणी गरेका हुन ।
संवदेनशील र गम्भीर अपराधका विषयमा गरिएको कमजोरीको जति आलोचना गरे पनि कम हुने टिप्पणी उनको छ । अडिओ भिडिओ सामाजिक सञ्जालमा छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको प्रक्रियामा नै नल्याईकनै सत्तापक्षको निर्देशनअनुरूपको अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का रूपमा तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाइएको महासचिव पोखरेलको आरोप छ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले पनि नक्कली शरणाार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेम राईको संलग्नतै नरहेको जिकिर गर्दै यसमा जबर्जस्ती उनीहरूको नाम जोडिएको दाबी गरेका छन ।
प्रहरीले सोमबार सरकारी वकिललाई बुझाएको अनुसन्धान प्रतिवेदनमा एमालेका उपाध्यक्ष थापा, उनकी पत्नी नैनकला थापा, पूर्वगृहसचिव एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, एमालेका पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्य र एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको समेत नाम उल्लेख गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित ३३ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।