सरकारले आर्थिक संकटको योजना ल्याउन सकेन : राजेन्द्र लिङ्देन

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले वर्तमान आर्थिक संकटको योजना ल्याउन नसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा लिङ्देनले नीति तथा कार्यक्रममा सरकारले देशलाई कुन बाटोबाट अगाडि लैजाँदैछ भन्ने मार्गचित्र हुनुपर्ने बताएका हुन्।

अहिले देशको अवस्था सामान्य नरहेको र देशले आर्थिक संकट भोगिरहेको अवस्थामा नीति तथा कार्यक्रममा यसको कसरी सामना गर्ने भन्ने समाधानका उपाय हुनुपर्ने सांसद लिङ्देनले बताए।

नीति कार्यक्रममा समस्या पहिचान र प्राथमिकता प्रष्ट छुट्याउन नसकेको उल्लेख गर्दै सांसद लिङ्देनले कतिपय विषयमा विरोधाभाष रहेको बताए।

रोजगारमूलक उद्योग खोल्ने, बिजुली सहुलियतमा दिने, दलले शेयर नखोज्ने, युनियनबाजी नहुनेजस्ता ग्यारेन्टी गर्नसके उद्योग सञ्चालन गर्नेलाई प्रोत्साहन मिल्ने उनको भनाइ थियो।

पर्यटनको पूर्वीय दर्शनको उद्गमथलो नेपाल भएको र बुद्ध तथा हिन्दुत्वको सरकारी तवरबाटै विकास गर्नुपर्ने सुझाव दिँदै सांसद लिङ्देनले पर्यटनको कुरालाई जोड्दा धार्मिक पर्यटनलाई बिर्सन नहुनेमा जोड दिए।

लिङ्देनले २०४६ सालपछिका उच्च पदस्थ नेता र कर्मचारीको छानबिन गर्न स्वतन्त्र नागरिक आयोग गठन गर्नुपर्ने बताए।

लिङ्देनले भने, ‘प्रधानमन्त्री २०४८ सालपछिको उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानबिन गर्ने भन्नुहुन्छ। मैले त भनेको छु। पञ्चहरूको राजाको ककसको कहाँबाट सुरु गर्ने हो ? तर अब सबैको सम्पत्ति छानबिन गरिनेछ। उनको नातागोता र परिवारको सम्पत्ति छानबिन गरिनेछ। अवैधानिक सम्पत्ति जफत गरिनेछ र कारबाहीमा ल्याइनेछ भनेर लेख्नुस् न।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू