नवलपरासी – नेपाल पत्रकार महासंघ नवलपरासीले स्वेच्छिक रूपमा महासंघको सदस्यता त्याग गर्ने सदस्यहरूलाई सम्मानसहित बिदाई गरेको छ।पत्रकार महासंघमा पत्रकारभन्दा गैरपत्रकारहरूको संख्या बढ्दै गएको र नेतृत्वमा उनीहरू नै हावी हुने गरेको गुनासो बढिरहेका बेला नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरण अभियान सुरू गरेको थियो।
महासंघको सोही अभियान अन्तर्गत नवलपरासी शाखाबाट सदस्यता लिएका तर हाल पत्रकारिता पेसामा नरहेका सदस्यहरूलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न आग्रह गरिएको थियो। नवलपरासी शाखाबाट सदस्यता लिएका १७ जनाले स्वेच्छिक रूपमा सदस्यता त्यागेको घोषणा गरेका थिए।
सदस्यता त्याग गरेका तिनै सदस्यहरूलाई महासंघले सम्मानसहित विदाई गरेको शाखा अध्यक्ष हरि शर्माले जानकारी दिए।अध्यक्ष शर्माले महासंघका सदस्यता शुद्धिकरण अभियान अन्तरगत हाल पत्रकारिता क्षेत्रमा क्रियाशिल नभएका र अन्य पेसालाई मूल पेसा बनाएका १५ जनाले लिखित निवेदन दिएर स्वघोषणा गरेको र अन्य २ जनाले मौखिक रूपमा स्वघोषणा गरेको जानकारी दिए।लिखित निवेदन दिएर स्वघोषणा गर्ने सदस्यहरूलाई जिल्ला शाखाले शनिबार सम्मानसहित बिदाई गरेको उनले बताए।
सदस्यता त्याग गर्नेहरूलाई सम्मानसहित बिदाई गर्दै महासंघका महासचिव एवं सदस्यता शुद्धिकरण अभियानका संयोजक रोशन पुरीले महासंघलाई व्यवसायिक पत्रकारहरूको मात्र संगठन बनाउन अभियान सञ्चालन गरिएको बताए।उनले मुल पेसा पत्रकारिता नभएकाहरू पनि सदस्य भइराख्दा संस्थाको गरिमामाथि नै प्रश्न उठिरहेका बेला सदस्यता त्यागको स्वघोषणा गर्नेहरूको अभियानले पत्रकारिता क्षेत्रलाई थप विश्वसनिय बनाउन सघाउ पुग्ने बताए।
जिल्ला शाखाहरू मार्फत सञ्चालन भइरहेको यो अभियानमा धेरै सदस्यहरूले स्वेच्छिक रूपमा सदस्यता त्याग गरेर सहयोग गरिरहेको उनको भनाइ छ।महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव विक्रम खड्काले लुम्बिनी प्रदेशबाट ५० प्रतिशतभन्दा बढी सदस्यहरू शुद्धीकरणको मापदण्डमा नपर्ने र उनीहरूको सदस्यता नवीकरण नहुने बताए।
जिल्ला शाखा नवलपरासीका सचिव राजकुमार रेश्मीका अनुसार शाखामा ८६ जना सदस्यहरू आवद्ध रहेकोमा शुद्धिकरण मापदण्डभित्र ४० जनाको मात्र नविकरण हुने अवस्था रहेको बताए।जिल्लामा शुद्धीकरणका लागि तीन सदस्यीय सदस्यता शुद्धीकरण एवं सदस्यता विवरण संकलन समिति गठन गरिएको र उक्त समितिले शाखामा आवद्ध सबै सदस्यको व्यक्तिगत विवरण संकलन गरिरहेकोले मापदण्डभित्र नपर्ने अन्य सदस्यहरूले पनि आफैंले सदस्यता त्याग गर्न उनले सुझाव दिए।
महासंघले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्ड निर्देशिकामा जनप्रतिनिधि, निजामती तथा अन्य जुनसुकै सरकारी निकायको स्थायी, अस्थायी, करार सेवामा कार्यरत (मिडियासँग सम्बन्धित सरकारी र संस्थानबाहेक) तथा गैरसरकारी संस्था (सहकारी, बैंक, फाइनान्सलगायत अन्य संघ संस्था) मा पूर्णकालीन काम गर्नेको सदस्यता नवीकरण नहुने र नयाँ सदस्यता पनि प्राप्ति नहुने उल्लेख छ।त्यसैगरी मापदण्डमा महासंघको सदस्यता लिएका तर कहिलेकाहिँ मात्र पत्रकारिता गर्नेको समेत सदस्यता नवीकरण नहुने उल्लेख छ।