भरतपुर कारागारका कैदीबन्दीलाई औषधि सहयोग

एटुजेड समाचार

भरतपुर – भरतपुर कारागारमा रहेका कैदीबन्दीको लागि नेपाल औषधी तथा विक्री प्रतिनिधि संघ (एनएमएसआरए) नारायणगढ इकाईले औषधी हस्तान्तरण गरेको छ । संघका अध्यक्ष धर्मदत्त दवाडीले कारागार कार्यालयका प्रमुख कमलप्रसाद आचार्यलाई विभिन्न ३१ प्रकारका औषधी हस्तान्तरण गरेका हुन् ।

विभिन्न रोगको नियमित औषधी सेवन गर्ने कारागारका कैदीबन्दीलाई औषधी अभाव भएको समाचार चितवन पोष्टमा प्रकाशित भएपछि कारागार प्रशासनलाई औषधी सहयोग गरिएको संघका अध्यक्ष दवाडीले बताए । उनकाअनुसार करिब डेढ लाख रुपैयाँ बराबरका औषधी हस्तान्तरण गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत कैदीबन्दीको लागि औषधी सहयोग गरिएको उनले बताए ।

कारागारमा चार आश्रित नाबालक र नाबालिकासहित ७५६ जना कैदीबन्दी छन् । जसमध्ये मुटुरोगका चार, उच्च रक्तचापका ६०, मधुमेहका २६, क्षयरोगका दुई, मानसिक रोगका छ, एचआईभी एड्सका छ, थाइराइडका तीन र छारे रोगका चार जना विरामी कैदीबन्दी छन् । एचआईभीका पाँच विरामीले नियमित एआरटी खाने गरेको कारागार प्रमुख आचार्यले जानकारी दिए ।

कैदीबन्दीको लागि औषधी किन्ने बजेट हरेक वर्ष घटेर आउने गरेको छ । गएको डेढ महिनादेखि औषधी व्यवस्थापनमा एकदमै कठिन भएको थियो’, उनी भन्छन्, ‘कारागार भित्र रहेका कैदीबन्दीले पनि उपचार पाउने उनीहरुको अधिकार हो । औषधी सहयोग पाएपछि हामीलाई सञ्जिवनी पाए सरह भएको छ ।’ रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू