काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहालले निकट समयमा हुने आफ्नो भारत भ्रमणमा नेपालको राष्ट्रिय हीत, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता नहुने बताएका छन । आज प्रतिनिधि सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिदै उनले भारत भ्रमणका क्रममा देशको राष्ट्रिय हीत, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता हुन नदिने बताएका हुन । प्रधानमन्त्री दाहालले आफूहरु नेपालको एक इन्च जमिनपनि छोड्न नसक्ने स्पष्ट पार्दै सोही मान्यताभित्र रहेर भारतसँग कुराकानी हुने बताए ।
प्रधानमन्त्री दाहालले ईपिजी प्रतिवेदन बुझ्ने, नबुझ्ने सम्बन्धमा भने भ्रमणअघि केही भन्न नसकिने उल्लेख गरे । सीमा सम्बन्धी सबै समस्याहरु कुटनीतिक माध्यमबाट समाधान गरिने प्रधानमन्त्री दाहालको भनाइ छ ।प्रधानमन्त्री दाहालले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षहरुलाई पुनरावलोकन गरी समसामयिक बनाउन कुटनीतिक पहलहरु जारी रहेको जानकारी पनि दिए । नेपाल आफ्नो एक इन्च भूमि पनि अन्य राष्ट्रलाई नदिने र अरु राष्ट्रको भूमि नलिने सिद्दान्तमा अडिग रहेको उनको भनाइ छ ।