६ महिनापछि आजवाट संघीय संसदका समितिहरु सक्रिय, समितिको सभापतित्व जेष्ठ सदस्यले गर्ने

एटुजेड समाचार

काठमाडौ – प्रतिनिधिसभा गठन भएको छ महिनापछि संसदीय समिति क्रियाशील भएका छन । सङ्घीय संसद् सचिवालयमा आज दश वटै विषयगत समितिको बैठक एकै पटक बसेको हो । गत मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि अझैसम्म विषयगत समितिका बैठक सुरु हुन सकेको थिएन । अघिल्लो अधिवेशनको अन्तिम दिनमा संयुक्त समितिसहित दश वटा विषयगत समितिमा रहने सदस्यहरू मनोनयन भए पनि बैठक बस्न भने सकेको थिएन ।

ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने आजको बैठकले दलीय आधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल गर्ने कार्यतालिका छ । समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले समितिका सदस्यहरूलाई स्वागत गर्ने, एक आपसमा औपचारिक रूपमा परिचय आदान प्रदान हुने र समितिमा आगामी दिनमा हुने छलफल र एजेन्डाका कार्यक्षेत्रका बारे जानकारी गराउने कार्यसूची रहेको छ । प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा सार्वजनिक लेखा छन । अधिकांश समिति करिब २५ सदस्यीय बनाइएको छ ।

संसद्का काम कारबाहीलाई व्यवस्थित रूपले सम्पादन गर्न संसदीय समिति प्रणाली विकसित भएकाले सभाका कामलाई सघाउने गर्छन् । दलबीच कुन समितिको नेतृत्व कसले पाउने भन्नेमा मोटामोटी सहमति भइसकेको बताइएको छ । साार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षी दलले प्राप्त गर्नेछ । बाँकी दुई समिति पनि प्रतिपक्ष दललाई दिन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तयार देखिएका छन ।।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू