काठमाडौ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण सहित बा¥ह जनालाई थप चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ । प्रहरीले अनुसन्धानका लागि थप समय माग गरेर आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएपछि अदालतले चार दिन समय थप दिएको हो ।
नक्कली भुटानी प्रकरणमा पूर्वगृहमन्त्री खाण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप, पूर्वगृह सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् । यस प्रकरणको गिरोहका नाइकेको रुपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, पाँचथरका टेक गुरुङ र मोरङका सागर राई लगायतलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएपनि उनी फरार छन् । यसैबीच नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरिएको प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न पुर्जी दिएको हो । यसअघि पक्राउ परेका पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईको बयानपछि प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । बुबा गृहमन्त्री भएका बेला प्रतीकले मानव बेचबिखन गिरोहबाट आर्थिक लाभ लिएर अनुचित कार्य गरेको प्रहरीले प्रमाण जुटाएकाले पक्राउ पुर्जी जारी गरिएको हो । उच्चपदस्थहरु धमाधम पक्राउ पर्न थालेसँगै उनी भने फरार छन । यस्तै, नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । शरणार्थी प्रकरणको गिरोहका नाइके हिरासतमा रहेका सानु भण्डारीलाई भेटेका उनीमाथि पक्राउ पुर्जी जारी भएको हो ।