नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतिक र कांग्रेस नेता आङतावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी

एटुजेड समाचार

काठमाडौ – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै १ अर्ब रुपैयाँ भन्दा बढी ठगी भएको प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न पुर्जी दिएको हो । बाबु गृहमन्त्री भएका बेला प्रतीकले मानव बेचबिखन गिरोहबाट आर्थिक लाभ लिएर अनुचित कार्य गरेको प्रमाण प्रहरीले जुटाएकाले पक्राउ पुर्जी जारी गरिएको हो ।

त्यस्तै नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । पूर्जी जारी हुनु पूर्व नै शेर्पा भने फरार रहेको बताइएको छ । शेर्पाले यसअघि पक्राउ परेकाहरुलाई भेटेर पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन दवाव समेत दिएको बताइएको छ । रकम फिर्ता दिलाउने भन्दै शेर्पाले केशव दुलाल र सानु भण्डारीलाई खाणको नाम नलिन भनेको प्रहरी अनुसन्धानमा खुलेको छ । शेर्पा २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित सांसद हुन ।

यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप, पूर्वगृह सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् । गिरोहका नाइकेको रुपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, पाँचथरका टेक गुरुङ र मोरङका सागर राईलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले बयानका क्रममा पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकको नाम पनि लिएका थिए । पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपनि उनी फरार छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू