चितवनकाे इच्छाकामनामा विपन्न परिवारलाई रेडियो वितरण

एटुजेड समाचार

चितवन – चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न परिवारलाई रेडियो वितरण गरेको छ । सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने उद्देश्यले गाउँपालिकाले पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडियो वितरण गरेकाे हाे ।

रेडियो पाएपछि जौगैराका ६० वर्षीय कोतरा चेपाङले खुसी हुनुभयाे । आर्थिक अवस्था कमजोर रहेका उहाँले रेडियोबाट गीत–सङ्गीत, समाचार सुन्न पाउने भन्दै खुसी व्यक्त गर्नुभयाे ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले यस आर्थिक वर्षमा मात्र एक सय रेडियो वितरण गर्दैछ । सातवटै वडाका अतिविपन्न र सूचनाको पहुँचमा नभएका गाउँपालिकाका नागरिकलाई रेडियो वितरण गरिने उहाँले बताउनु भयाे ।

अध्यक्ष गुरुङले भन्नुभयो, ‘सूचना पाउनु नागरिकको अधिकार हो, कोही पनि नागरिक सूचनाको पहुँचबाट टाढा बस्नु हुँदैन, यहाँका कतिपय नागरिक मोबाइल, इन्टरनेट, टेलिभिजन र रेडियोको पहुँचमा छैनन्, ती नागरिकलाई सूचनाको पहुँचमा ल्याउने हाम्रो लक्ष्य हो ।’ यहाँका ग्रामीण भेगमा सूचनाका लागि उपयुक्त माध्यम रेडियो भएको उहाँको भनाइ छ ।

देश–विदेशका घटनाक्रम तथा गाउँपालिकाको गतिविधि एवं सूचना जानकारी दिन तथा रेडियो सुन्ने बानीको विकास हुने अध्यक्ष गुरुङको विश्वास छ । रेडियो सुन्ने बानीको विकाससँगै रेडियोबाट प्रसारण हुने जनचेतनामूलक सूचना कार्यक्रमले नागरिकमा चेतनाको विकास हुने उहाँको भनाइ छ ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू