चितवनका दुई अभियान्ताको ‘नुन तेल’ र ‘भुँमरी’ विमोचन

चितवन – चितवनका दुई अभियान्ताका कृति एकसाथ विमोचन भएको छ । नारायणी कला मन्दिरको मञ्चमा चलिरहेको चित्तौन कचेहेरीमा अभियन्ता केपीकिरण शर्मा र डा जीवन क्षेत्रीका कृति विमोचन गरिएको हो ।
चेपाङ संरक्षणका अभियन्ता शर्माको ‘भुमरी’ चेपाङ समुदायको शैक्षिक व्यक्तिद्वय विश्वास चेपाङ र सुनिमाया चेपाङमार्फत विमोचन गरिएको हो । करिब डेढ दशकदेखि चेपाङ जातिको शैक्षिक भविष्य खोज्दै हिँडेका शर्माले आफ्ना अनुभवलाई संस्मरणको रुपमा कृति प्रकाशन गरेका हुन् ।
उनी रोजगारीको सिलसिलामा भारत र दुवै गएर आएपछि चेपाङ समुदायको संरक्षणमा लागेका व्यक्ति हुन् । रत्ननगर निवासी उनी हाल गामबेशी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष रहेका छन् । त्यहाँ १ सय ५० जना चेपाङका बालबालिका आवासिय सुविधा सहित बसेर पढ्दै आएका छन् ।
सामाजिक अभियन्ता डा क्षेत्रीको कृति ‘नुन–तेल, विगत र पदयात्रा’ लेखकका बुबा बलबहादुुर र आमा लक्ष्मीमार्फत सार्वजनिक गरिएको हो । नुन तेल पुस्तकमा पृथ्वीको उत्पति, जलवायू संकट र भावि सन्ततिप्रतिको चिन्ताका विषयमा उठान गरिएको छ ।
क्षेत्रीले हजुर, बुवा र छोरा पुस्तालाई आधार बनाएर पुस्तकलेखिएको समालोचक उदय अधिकारीले बताए । मानव विकासका लागि यस पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।
डा. क्षेत्री चिकित्सा क्षेत्रको सुधारमा लागेका व्यक्ति हुन् । चिकित्सक समेत रहेका उनी स्वतन्त्र लेखक हुन् । उनको यो पहिलो कृति गैरआख्यान हो । यी दुवै कृति विमोचनको सहजकर्ता पत्रकार राजेश घिमिरेले गरेका थिए ।
तपाइँको प्रतिक्रिया