काठमाडौँ – सरकारले भ्रष्टाचार नियन्त्रणका लागि गरेको प्रयासमा आफूहरूको साथ र सहयोग रहने भन्दै राप्रपाका शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
भेटका क्रममा लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानलाई गहनरुपमा अघि बढाउन प्रधानमन्त्रीसँग आग्रह गरे। उनले भ्रष्टाचारीको कुनै जात,धर्म,लिंग र पार्टी नहुने भन्दै भ्रष्टाचारका पुराना फाइल खोल्नुपर्ने माग गरे।
लिङदेनले भने,‘नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रक्रिया रोकिनु हुँदैन । अनुसन्धान अघि बढाए जस्तो गर्ने तर अन्त्यमा फासफुस हुने काम नहोस् ।’ लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो कोहि भए पनि उम्कन नहुने बताए । ‘विगतमा भएका भ्रष्टाचारका ठूलाठूला फाइलहरू पनि खोल्नु पर्यो,’अध्यक्ष लिङदेनले भने,‘उच्च पदस्थ नेता होउन वा कर्मचारी । जो-जो संलग्न छन् । सबैमाथि छानबिन होस् ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदसय एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई,बहालवाला सचिव टेकनारायण पाण्डेसहित १२ जना पक्राउ परिसकेका छन्। पक्राउ पुर्जी जारी भएका एमाले सांसद टोपबहादुर रायमाझी भने अझै फरार छन्।
यस्तै पूर्वगृहमन्त्री बादलको सुरक्षा सल्लाहकार राईका छोरा निरज राई पनि फरार छन्।