काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विदेशी लगानी आकर्षित गर्न प्रतिवद्ध रहेको बताएका छन्। शुक्रबार लगानी बोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसर सिर्जना गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको बताए।
उनले नेपालको विकास प्रयासहरूमा वित्तीय संस्था र विकास साझेदारका साथै निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको धारणा पनि राखे। लगानीको वातावरण बनाउनका लागि नीतिगत,कानुनी,नियामक,प्रक्रियागत र संस्थागत व्यवस्था सुधार गर्न पहल गरिसकेको उनले जानकारी दिए।
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्वव्यापी वित्तीय घटनाहरुको खासै प्रभाव नपरेपनि केहि समस्या भने देखिएको भन्दै त्यसलाई समाधान गर्नका लागि सरकार अघि बढिरहेको जानकारी दिए।उनले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याइरहेको भएपनि त्यसलाई उत्पादनशील क्षेत्रमा पर्याप्त रुपमा प्रयोग गर्न नसकिएको धारणा राखे।
उनले सम्पूर्ण ध्यान परियोजनालाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्न र आगामी दिनमा सम्भाव्य वित्तिय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्नका लागि पनि तयार रहेको धारणा राखे।