काठमाडौं – कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताएका छन् ।बिहीबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपाल कृषिप्रधान देश हो भन्ने गरे पनि हालसम्म कृषि ऐन नै नहुनु दुःखद् भएको बताए ।
उनले अहिले मन्त्रालयले कृषि ऐन बनाउनका लागि मस्यौदा तयार पारिरहेको पनि जानकारी दिए । उनले कृषि ऐन बनाउन सकेमात्रै पनि कृषि उपज कतिपय समस्या समाधान हुने विश्वास व्यक्त गरे ।


“हाम्रो मुल कृषि ऐन नै रहेनछ, कृषि ऐन नै छैन । भन्न त हामीले कृषिप्रधान देश भन्छौँ तर कृषितन्त्र अर्थतन्त्रको मेरुदण्ड भन्छौँ तर कृषि ऐन नै छैन, त्यो बनाउनुपर्छ भनेर छिटो भन्दा छिटो बनाउँ भनेर मन्त्रालयबाट अघि बढाइरहेका छौँ । अघि बढ्दैछ, मस्यौदाको क्रममा छ, त्यसलाई ल्यान सकेमात्रै पनि कतिपय कुराहरू स्पष्ट हुन्छन्,” उनले भने ।