दार्चुला – ब्यास गाउँपालिका–१ भोलुङमा गएको हिमपहिरोमा बेपत्ता भएको ९ दिनपछि किशोरीको शव भेटिएको छ । बुधबार अबेर साँझतिर डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
ब्यास गाउँपालिका–१ छाङरुमा रहेको सशस्त्र प्रहरी बल नं. ५० गुल्म र सितापुल प्रहरी चौकिबाट खटिएका सुरक्षाकर्मीहरूले बेपत्ताहरूको खोजी गरेका थिए । यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल थापाको शव फेला परेको प्रहरीले जनाएको छ। बुधबार फेला परेको शवलाई बिहीबार बिहान भारतीय बाटो हुँदै सदरमुकाम खलंगा ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयमा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । शवको जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने प्रहरिले जनाएको छ ।


वैशाख १९ गते गएको हिमपहिरोमा परेर ५ जना बेपत्ता भएका थिए । ७ जनाले भागेर ज्यान जोगाएका थिए । उनीहरुलाई सोही दिन प्रहरीले सकुशल उद्धार गरेको थियो। यार्सागुम्बा संकलनका लागि भोलुममा पुगेकाहरुमध्ये ५ जना हिमपहिरोमा बेपत्ता भएका थिए।