ताेसिमा कार्कीकाे प्रश्न– ‘भ्रष्टाचारकाे कुरा उठाउँदा कसरी महिला हिंसा भयाे ?’

एटुजेड समाचार

काठमाण्डाै – प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा पनि नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ रुपैयाँ असुल गरी नेपालीलाई अमेरिका पठाउनेहरूलाई कारबाही गर्नुपर्ने माग उठेको छ ।

बैठकमा बजेट पूर्वको छलफल गर्ने कार्यसूची रहे पनि शून्य समयमा सांसदहरूले नक्कली शरणार्थी प्रकरणले देशमा भ्रष्टाचारको जालो देखाएको र विदेशमा नेपालको छवि नै धूमिल भएको भन्दै जतिसुकै भीभीआईपी व्यक्ति संलग्न रहे पनि कारबाही हुनुपर्ने बताएका हुन् ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले कांग्रेस नेत्री आरजु राणा देउवालाई लक्षित गर्दै भ्रष्टाचारसँग कुनै लिङ्ग, जात र समुदाय नजोड्न आग्रह गर्नुभयो । अस्ति आइतवारको बैठकमा नेत्री राणाले आफूलाई भ्रष्टाचारसँग जोडेर महिला हिंसा गरेको आरोप लगाउनुभएको थियो । त्यही विषयलाई लिएर आज तोसिमा कार्कीले भन्नुभयो, ‘एक महिला माननीयज्यूले टेप काण्डको अनुसन्धान माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो भन्नुभयो, मलाई उत्तर दिनुपर्‍याे– भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ ?’ कार्कीले पक्राउ पुर्जी जारी भइसकेपछि पनि दोषीलाई जोगाउन खोजेको आरोप लगाउँदै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत दलाली साबित गर्ने अनि के मुखले अनुदान माग्न जाने भनेर सोध्नुभएको छ ।

सांसद कार्कीले संसद् भ्रष्टाचारीहरूलाई जाेगाउने प्रहसन स्थलजस्ताे भएकाे भन्दै आपत्तिसमेत जनाउनुभयाे । उहाँले भन्नुभयो, ‘यो सदन देश निर्माण गर्न छलफल गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहसन स्थल हो ? एकले अर्कालाई जोगाइरहने, काण्डैकाण्ड गरिरहने अनि देश डुबाइरहने ?’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु