जोमसोम – मुस्ताङमा शुक्रबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ। मुस्ताङको पाँचवटै स्थानीय तहमा वर्षासँगै आंशिक हिमपात भएको हो।
मुस्ताङको जोमसोममा बिहीबार परेको वर्षा रोकिए पनि शुक्रबार बिहानैबाटै निरन्तर वर्षा र उच्चलेंकमा हिमपात भएको हो।
घरपझोङ गाउँपालिकादेखि थासाङ गाउँपालिकामा बिहानैदेखि वर्षा भइरहेको छ भने उच्चलेंकमा हिमपात भइरहेको थासाङका स्थानीय सोजन हिराचनले जानकारी दिए।
वारागुङ मुक्तिक्षेत्रको कागबेनीदेखि मुक्तिनाथ क्षेत्र लगायतका उच्चलेंकका गाउँ खर्कहरूमा बिहानैदेखि वर्षासँगै हिमपात भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए। ‘शुक्रबार बिहानैदेखि निरन्तर वर्षा र हिमपात भएको छ, जमिनमा हिउँ जम्न सकेको छैन,’उनले भने,‘ तापक्रम बढेकाले हिउँको दृष्य देखिन पाएको छैन, वर्षाले दर्शनार्थीलाई पूजाआजा, दर्शन र स्नान गर्न समस्या परेको छ।’
यसैगरी उपल्लो मुस्ताङमा पनि शुक्रबार बिहानदेखि निरन्तर वर्षा र हिमपात भइरहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए।
मुस्ताङमा हिउँद सकिएपछि फागुनको पहिलो सातादेखि पटक-पटक वर्षा हुने गरेको छ। पुस र माघमा मुस्ताङमा हिमपात भएको थिएन। हिउँ पर्ने मौसममा नपरेको हिउँ बेमौसममा परेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले बताए। उनले हिउँ पर्ने समयमा नपरेको हिउँ बेमौसममा परेको र यसले कृषकलाई फाइदा नपुग्ने बताए।रासस