अहिलेका राष्ट्रपतिले नागरिकता विधेयक रोकेर राख्‍नुहुन्‍न : प्रधानमन्त्री दाहाल

एटुजेड समाचार

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले नागरिकताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । उनले अहिलेका राष्ट्रपतिले पहिलेका राष्ट्रपतिको जस्तो संसद्‌बाट पारित गरेर पठाएको नागरिकता विधेयक रोकेर नराख्ने भन्दै ढुक्क हुने आग्रह गरे । बारा-२ मा सत्ता गठबन्धनको आमसभामा प्रधानमन्त्री दाहालले गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन आग्रह गर्दै यस्तो बताएका हुन् ।

‘यो पटक हामीले सदनबाट पारित गरेपछि रोक्ने राष्ट्रपति होइन, फुकाउने राष्ट्रपति आउनुभएको छ । यसपटक फुक्नेछ र छिट्टै नागरिकता समस्या समाधान हुनेछ,’ प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहालले उपेन्द्र यादव देश र मधेशको आन्दोलनको नेता हुनुको नाताले संविधान र देशको रक्षा तथा जनताको अधिकारका लागि आन्दोलनलाई थप अघि बढाउन संसद्‌मा अनिवार्य व्यक्तित्व भएको बताए । उपेन्द्रलाई जिताउन भन्दै प्रधानमन्त्री दाहालले बाराको निजगढ विमानस्थल बनाउने, विद्युतीय सिंचाईको व्यवस्थापन गरिदिने, गढीमाईलाई पर्यटकीय क्षेत्र बनाउन विकास कोषको स्थापना गर्ने र कोभिडले बन्द भएको भन्सार खोल्ने लगायतका आश्वासन समेत बाँडेका छन् ।

‘शेरबहादुरजी प्रधानमन्त्री हुँदा निजगढ विमानस्थल बन्छ, बन्दैन भनेर अनुगमन गर्न आएका थियौं । अब छिट्टै शिलान्यासको लेवलमा पुर‍्याइनेछ, र निर्माण प्रक्रिया अघि बढाइनेछ । यो विश्वास दिलाउँछौं,’ प्रधानमन्त्री दाहालले भने, ‘यो गढीमाईलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय ठाउँको विकास गन गढीमाई विकास कोष बनाउन हामी अघि बढ्नेछ । भन्सार खुल्ला गर्नेबारे आवाज उठ्यो भन्सार खोल्ने पहल सुरु गर्नेछु । कृषि मल, बीउको सिंचाईको समस्या समाधन गर्नेछु । अब विद्युतीय सिंचाईं प्रणाली अब अघि बढ्छ । यसमार्फत सिंचाई समस्या हुन्छ ।यसले विकासको नयाँ लहर सृष्टि हुनेछ ।’

प्रधानमन्त्री दाहालले सप्तरीमा चुनाव हारेका उपेन्द्रलाई आफूले बारा-२ मा चुनाव लड्न पठाएको बताए । ‘गठबन्धनमा उपराष्ट्रपति माओवादीको भागमा परेको हो । तर मैले नै उपराष्ट्रपति पद जसपालाई दिएर रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपेन्द्रजीलाई यहाँ चुनाव लड्न पठाएको हुँ,’ उनले भने ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू