काठमाडौंले जित्यो भरतपुर मेयरकप बागमती प्रदेश यु १६ क्रिकेटको उपाधि

एटुजेड समाचार

चितवन – भरतपुरमा सम्पन्न भरतपुर मेयरकप बागमती प्रदेश यु १६ क्रिकेटको उपाधि पाहँुना टोली काठमाडौंले जितेको छ । आजको फाइनल खेलमा घरेलु टोली चितवनलाई ४ विकेटले हराउदै पाहँुना टोली काठमाडौंले उपाधि उचालेको हो ।

निर्माणाधिन क्रिकेट रंगशालाको नमुना मैदानमा १ सय २२ रनको विजय लक्ष्य पछ्याएको पाहँुना टोली काठमाडौंले २४ औं ओभरको तेश्रो बलमा ६ विकेट गुमाएर जित निकाल्यो । दुवै ओपनर सस्तैमा गुमाएको काठमाडौंको लागि मध्यक्रममा बुद्धिमान विष्ट र विरेन्द्रसिंह साउदले पारी सम्हालेका थिए ।

साउदले ३३ रन बनाए भने विष्टले ३२ रन बनाए । यस्तै काठमाडौंको जितमा निश्चल श्रेष्ठले नटआउट २० रनको योगदान गरे ।बलिङमा चितवनका दिपेश क्षेत्री, सुगम सापकोटा, विशाल खत्री, अंकित झा र शिव भट्टराइले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २५ ओभरमा ८ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो । चितवनका लागि ओपनर अंकित झाले सर्वाधिक ४१ रन बनाए । ४६ बल खेलेका उनले ६ चौका र २ चौका प्रहार गरे । उृनी पवन कठायतको बलिङमा बोल्ड हुदै पेभेलियन फर्किए । यस्तै कप्तान सुर्यान्शु कोइरालाले १५ रन जोडे । २६ बल खेल्दै रन बनाउन संघर्ष गरिरहेका उनी निश्चल श्रेष्ठको बोल्ड भए ।

त्यसबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन एक अंकमा नै सिमित भयो । बलिङमा काठमाडौंका सुबिन हाडा र पवन कठायतले समान २ विकेट लिए । सार्थक धिताल र प्रतिक पण्डितले समान एक विकेट निकाले । फाइनल खेलको प्लेयर अफ द म्याच काठमाडौंका निश्चल श्रेष्ठ भए ।

त्यस्तै विधागतर्फ बेष्ट ब्याट्सम्यान र बेष्टको बलरको पुरस्कार चितवनले पायो । चितवनका कप्तान सूर्यान्शु कोइराला बेष्ट ब्याट्सम्यान बन्दा विशाल खत्री बेष्ट बलर घोषित भए । प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट काठमाडौंका निश्चल श्रेष्ठ चुनिए ।

प्रतियोगिताको विजेता टोलीलाई भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले संयुक्त रुपमा ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । भरतपुर महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघको आयोजनामा बैशाख ४ गतेदेखि संचालन भएको प्रतियोगिता आज समापन भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू