काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संक्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयकप्रति आपत्ती जनाएको छ।
सिंहदरबारमा शनिबार बसेको राप्रपा संसदीय दलको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिन सम्बन्धी संशोधन विधेयकमा फरक मत राख्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
विधेयकमा द्वन्द्वको एक पक्षीयलाई मात्रै सम्बोधन गर्ने प्रयास गरेकाले आफूहरूको विरोध रहेको उनको भनाइ छ।
बैठकले संसदीय दलको विधान पारित गरेको छ भने दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ। बैठकले संघ र प्रदेशका सांसदहरूलाई अनुशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए।
बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको लिङ्देनको भनाइ छ।