भरतपुर । गर्मी याम सुरु भएसंगै डिभिजन वन कार्यालय चितवनले सम्भावित डढेलो जोखिम न्युनिकरण तथा नियन्त्रणका लागि अग्रसरता देखाएको छ । फागुन महिना सुरु भए देखि नै कार्यालयले विभिन्न गतिबिधिहरु गर्दै आईरहेकोमा हाल यसलाई थप तिब्र पारेको हो । डिभिजन वन अन्तरगतका आठ ओटै सब डिभिजन मातहतमा स्थानिय उपभोक्ताहरुको अगुवाईमा डढेलो नियन्त्रण संजाल गठन गरिएको कार्यालयका सहायक वन अधिकृत एवं सूचना अधिकारी बालकृष्ण खनालले एटुजेड समाचारलाई जानकारी दिए ।
यसरी उपभोक्ताको प्रत्यक्ष संलग्नतामा संरक्षणका कार्यक्रमहरु ल्याईदा बढी प्रभावकारी हुने उनको भनाई छ । साथै कार्यालयले यस पटक १० जना वन दस्ता समेत नियुक्त गरेको छ । हरित स्वयंसेवकका रुपमा नियुक्त वन दस्ताले वन तथा वन पैदावरको संरक्षण गरि डढेलो नियन्त्रणमै मुख्य भुमिका खेल्नेछन् । हालका लागि इच्छाकामनाको हरिपुर र भरतपुरको भोजाडमा वन दस्ता तैनाथ गरिएको छ ।
डढेलो मुलतः प्राकृतिक र क्रित्रिम गरी दुई कारणले हुने भएता पनि नेपालमा भने क्रित्रिम अर्थात मानविय कारणले नै बढी हुने गरेको छ । बस्तुभाउ चरिचरणका निम्ति र पिकनिक खान वन क्षेत्रमा जाने र सोही अवस्थामा मानिसले हेल्चेक्राई गर्नाले बढी मात्रामा डढेलो र आगलागीका घटना हुने गरेका छन् । सालका रुख हुने वन क्षेत्रमा डढेलोको जोखम बढी हुने गर्दछ । विगतलाई हेर्दा १० हजार ३ सय २ हेक्टरमा फैलिएको बरण्डाभार वनमा सबैभन्दा बढी डढेलो लाग्ने गरेको पाईन्छ ।
डिभिजन वनको सक्रिय अभियानको फलस्वरुप गत वर्ष र यस वर्षको चालु महिना सम्म डढेलोको कुनै अप्रिय समाचार सुन्नु नपरेको सूचना अधिकारी खनालले बताए । डढेलो लाग्दा अमुल्य वन्यजन्तु र वन पैदावर नाश हुनेहुँदा सो प्रति सचेत रहन र कहीँकतै यस्ता गतिबिधि भएको थाहा पाएमा नजिकको वन कार्यालय वा डिभिजन वन कार्यालय चितवनलाई खबर गरिदिन पनि एटुजेड समाचार संग कुराकानी गर्दै उनले आग्रह गरेका छन् । डढेलो लागेको खबर पाएमा कार्यालयले सुरक्षा निकाय तथा स्थानिय निकाय समेतको सहयोगमा नियन्त्रणमा लिँदै आईरहेको छ ।