एजेन्सी – दक्षिणपूर्वी बंगलादेशमा रोहिन्जया शरणार्थीहरू बस्दै आएको एउटा शिविरमा भीषण आगलागी हुँदा हजारौं मानिस आश्रयविहीन भएका छन्।
बंगलादेशी अधिकारीहरूले आगलागीबारे अनुसन्धान भइरहेको बताएका छन्। कक्स बजारको शिविरमा आइतबार आगलागी हुँदा झन्डै २ हजार टहराहरू जलेर नष्ट भएको बीबीसीमा समाचार छ।
आगो नियन्त्रणमा आएपछि काम लाग्ने सामान खोज्न सयौं मानिसहरू सोमबार बिहान घटनास्थल फर्किएका छन्। छिमेकी देश म्यान्मारमा हिंसा फैलिएपछि विस्थापित भएका हजारौं मानिसले बंगलादेशमा शरण लिइरहेका छन्।
आइतबारको आगलागीबाट झन्डै १२ हजार शरणार्थीहरू विस्थापित भएका छन्। आगलागीको कारण भने खुलेको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार शंकास्पद एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
एक प्रत्यक्षदर्शीका अनुसार स्थानीय समयअनुसार आइतबार दिउँसो २:४५ बजे आगलागी सुरू भएको हो। आगोले केही बेरमै बाँस र तिरपालबाट बनाइएका टहरालाई ध्वस्त बनाएको थियो।
झन्डै २ हजार टहरा जलेपनि १२ हजार मानिस विस्थापित भएको बताइएको छ।