‘प्रचण्ड देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुग्‍नुभो’ : शंकर पोखरेल

एटुजेड समाचार

काठमाडौं | नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताएका छन्। विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री प्रचण्ड देश र जनताको पक्षमा उभिनै नसक्नेगरी कायरता प्रदर्शन गर्न पुग्नु परेको महासचिव पोखरेलको तर्क छ। २४औं यदु स्मृति दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा अवलम्बन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य नै नभएको दाबीसमेत गरे।

महासचिव पोखरेलले पाँच दलीय गठबन्धन असफल भएपछि आफूहरुले देशलाई जोगाउनका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउनु परे पनि उनले त्यसलाई धान्न नसकेको बताए। उनले भने, ‘पार्टी भित्रको अन्तरसंघर्षमा सही कुरालाई निषेध गर्दाखेरी के हुँदो रहेछ भन्ने कुरा सायद आज प्रचण्डले व्यहोरिरहेका पीडाहरु त्यसैसँग जोडिएका छन भन्ने मलाई लाग्दछ। यदु गौतमका कुराहरु सुनेको भए आज प्रचण्ड आफ्नो देशको पक्षमा उभिन नसक्ने मुलुकको प्रधानमन्त्री यस्तो बिडम्बनापूर्ण राजनीतिको यात्रा गर्नुपर्थ्यो उहाँले। तर शक्ति संघर्षमा वडा चलाखीका साथ नेतृत्व प्राप्त त गरेको छ। तर, देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य छैन। किनकी विगतमा अवलम्बन गरेको बाटो गलत थियो भन्ने कुरा त्यो कायरताले प्रकट गर्छ भन्ने मलाई लाग्दछ।’

महासचिव पोखरेलले विदेशी चलखेलका कारण मुलुकमा नयाँ समिकरण बनेको भन्दै त्यो राष्ट्र र जनताको पक्षमा नरहेको पटकपटक दोहोर्‍याए। उनले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि देशभक्त, वाम–लोकतान्त्रिक शक्तिहरुबीच बलियो सहकार्यको आवश्यक्ता रहेको पनि बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू