इंग्लिस प्रिमियर लिगमा चेल्सीले जनवरी यता पहिलो जित निकालेको छ। लगातारको खराव प्रदर्शनका कारण संकटमा परेका प्रशिक्षक ग्राहम पोर्टरले लिड्सविरुद्धको १-० को जितसँगै राहत महसुस गरेका छन्। चेल्सीको जितमा वेल्सी फोफानले प्रिमियर लिगमा गरेको पहिलो गोल निर्णायक बनेको थियो। प्रिमियर लिगकै अर्को खेलमा शीर्ष चारमा अग्रता फराकिलो बनाउने मौका टोटेनह्यामले गुमायो। टोटेनह्याम वल्भेससँग १-० ले पराजित भयो।
चेल्सी पछिल्ला १५ खेलमा केवल २ खेलमा मात्र जित निकाल्न सकेको थियो। चेल्सीले ११ फेब्रुअरी पछि पहिलो पटक लिगमा गोल गरेको हो। जनवरी ट्रान्सफरमा ठूलो मुल्यमा खेलाडी खरिदको कीर्तिमान बनाएको चेल्सी नतिजामा असफल हुँदा प्रशिक्षक पोटर वर्खास्तीको संघारमा रहेका थिए। शनिबार लिड्स युनाइटेडविरुद्ध पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा फोफानाले गोल गर्दै टिमलाई अग्रता दिलाए। ५३ औँ मिनेटमा चिलवेलले दिएको पासलाई उनले सदुपयोग गर्दा चेल्सी गोल गर्न सफल भयो। उक्त गोलनै महत्वपूर्ण तीन अङ्कका लागि पर्याप्त बन्यो।
चेल्सी जितपछि २५ खेलबाट ३४ अङ्कका सथ १० औ स्थानमा कायम छ। शनिबारनै भएको अर्को खेलमा टोटेनह्याम भने वल्भर ह्याम्पटन (वल्भेस) सँग १-० ले स्तब्ध बनेको छ। अधिकाशं समय गोलरहित बराबरी भएको खेलमा वल्भेसले ८२ औँ मिनेटमा निर्णायक गोल गरेको थियो। उसका लागि एडम टावरेले गरेको एकमात्र गोल निर्णायक बन्यो। जितसँगै वल्भेसले २६ खेलबाट २७ अङ्क बनाएर १३ औँ स्थानमा उक्लिएको छ। उसले सरेलिगेशन जोनभन्दा ६ अङ्कको अग्रता बनाउन सफल भयो। पराजित भएको टोटेनह्यम भने २६ खेलबाट ४५ अङ्क बनाएर चौँथो स्थानमा कायम छ। त्यस्तै शनिबार राति भएका प्रिमियर लिगका अन्य खेलमा एस्टन भिल्लाले क्रिश्टल प्यालेसलाई १-० ले पराजित गर्दा ब्राइटनले वेस्टह्यामलाई ४-० ले पराजित गर्यो। त्यस्तै साउथहेम्टनले लेस्टर सिटीलाई १-० ले पराजित गरेको थियो।