काठमाडौँ — नेपाली राष्ट्रिय टिमका कप्तान एवम् गोलकिपर किरण चेम्जोङको टिम राउन्डग्लास पन्जाव एक खेल बाँकी हुँदा आई लिगको उपाधि पक्का गर्दै इन्डियन सुपर लिग (आईएसएल) मा उक्लिएको छ
पन्जावले वराणसीस्थित अम्बेडकर रंगशालामा शनिबार राजस्थान एफसीलाई ४–० ले पराजित गर्दै दोस्रो स्थानमा रहेको श्रीनिदि डेक्कनमाथि आठ अंकको अग्रता लिँदै आई लिग २०२२–२३ को उपाधि पक्का गरेको हो ।
अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले यसै सिजनदेखि आई लिग विजेतालाई आईएसएलमा बढुवा हुने व्यवस्था गरेको हो, जुन अवसर पन्जावले पाएको छ ।
‘डबल लिग’ को आधारमा आयोजित पाँच महिना लामो लिगमा पन्जावले २१ खेलमा १५ जित, ४ बराबर र २ हारको नतिजा निकाल्दै ४९ अंक बनाएको छ । एक खेल कम खेलेको श्रीनिदि डेक्कनले ४१ अंक जाडेको छ ।
पन्जाव दोस्रोपटक आई लिग च्याम्पियन भएको हो । यसअघि सन् २०१७–१८ मा च्याम्पियन हुँदा पनि अन्तिम आठ खेलमा उसको गोलपोष्ट किरणले सम्हालेका थिए ।
उनले यो सिजन ११ खेलमा ‘क्लिनसिट’ राख्दै पन्जावको उपाधि यात्रामा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले माल्दिभ्सको धिवेही प्रिमियर लिग दुईपल्ट (टीसी स्पोर्ट्स- २०१८ र माजिया- २०२२) जितेका उनले २०७९ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि थ्रीस्टारबाट चुमेका थिए । नेपाली राष्ट्रिय टिमबाट सर्बाधिक खेल खेलेको कीर्तिमान बनाएका उनी तीन देशको लिग जित्ने पहिलो र एक मात्र नेपाली फुटबलर हुन् ।