दण्ड र पुरस्कारको असल अभ्यास नै शासन प्रणाली हो : प्रधानमन्त्री प्रचण्ड

एटुजेड समाचार

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासन प्रणाली भएको बताएका छन् ।

शनिवार दिउँसो बालुवाटारमा तलब सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिए ।

उनले भने, ‘तपाईँहरूको प्रतिवेदनमा कर्मचारीहरूले तलबमानका साथै अर्थतन्त्रको स्थिति, चुनौती र सम्भावनाको संक्षेपमा अध्ययनसमेत रहेछ, यसले सरकारको आगामी नीतिका लागिसमेत सहयोग पुग्नेछ। शासन व्यवस्था भनेकै आखिरमा दण्ड र पुरस्कारको असल अभ्यास नै हो। हाम्रो कर्मचारी प्रशासनमा समेत त्यो कुरा लागू गर्नुपर्दछ ।

प्रधानमन्त्रीले आयोगको प्रतिवेदनमा उल्लेखित नीतिगत विषयमा गृहकार्य गर्दै जाने, कानूनी विषयहरू संघीय निजामती ऐनमा नै व्यवस्था गर्ने र व्यवहारिक सुझावहरू तत्काल कार्यान्वयनमा लैजाने बताए ।

प्रतिवेदन हस्तान्तरण गर्दै आयोगका संयोजक लीलामणि पौडेलले नेपालको अर्थतन्त्रको संक्षिप्त विश्लेषण, दक्षिण एसियाली मुलुकहरूमा कर्मचारीहरूको सेवा सुविधाको अवस्था, सेवा सुविधासम्बन्धी नयाँ प्रस्ताव, उपचार खर्च, विदासम्बन्धि व्यवस्था समेटिएको बताए ।

यस्तै कर्मचारी आवाससम्बन्धी व्यवस्था, यातायात सुविधासम्बन्धी व्यवस्था र वर्तमानमा देखिएका बेथितिहरूको नियमनसम्बन्धी व्यवस्था, कर्मचारी दरबन्दीमा कटौती, एक पद एक पेन्सन नीति, दोहोरो तलब र पेन्सनको नियमन, पेन्सनबाट राज्यलाई पर्ने भारमा कटौती गर्ने विकल्पहरू, श्रमिकहरूको न्यूनतम ज्याला निर्धारणका लागि सुझाव लगायतका विषय पनि समेटिएको उनले बताए ।

गत भदौ ६ गते पूर्व मुख्यसचिव पौडेलको संयोजक र विमल वाग्ले र शिवदेव पाण्डे सदस्य रहनेगर गठन भएको आयोगलाई ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू