भरतपुर – सिके सिनेमाज शुक्रबारबाट सञ्चालनमा आएको छ । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनाको संयुक्त लगानी रहेको छ ।
सिके सिनेमाजको उद्धघाटन चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, काठमाडौं क्षेत्र नम्बर ८ का सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारी उपस्थित थिए । प्रमुख अतिथिको बोर्ड अध्यक्ष केसीले रिवन काटेर हलको शुभारम्भ गरेका थिए।
कार्यक्रममा बोर्ड अध्यक्ष केसीले सिनेमा हल कलाकार र दर्शकको लागि मन्दिर भएको बताए । सिनेमा हल कलाकारका लागि नभई सिनेमा प्रेमीको लागि खुशीको कुरा भएकाले शहरमा मात्रै होइन् गाउँ गाउँमा सिनेमा हल खोल्नु पर्ने बताए ।



सांसद श्रेष्ठले नागार्जुन क्षेत्रमा हल सञ्चालन गरेकोमा सञ्चालकलाई धन्यवाद दिए । सिनेमा हल साझा सम्पत्ति भएकाले शान्ति सुरक्षा कायम राख्दै हलको सुरक्षा गर्नुपर्ने बताए ।
अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको सिनेमा हलमा ३ सय ९१ सिट क्षमता रहेको छ । करिब १२ करोड लगानीमा निर्माण भएको सिनेमा ७१ र डल्बी एटमोस साउण्ड सिस्टम जडान गरिएको सञ्चालक नरेन्द्र महर्जजले बताए । दुई पर्दा रहेको सिके सिनेमाजमा शुक्रबारबाट नेपाली सिनेमा छड्के २ र छक्का पञ्जा ४ रिलिज भएका छन् ।