काठमाडौं – राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपतिबारे कडा टिप्पणी गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेको स्मरण गर्दै उनले एमालेको मात्र राष्ट्रपति बनेको आरोप लगाइन् ।
राष्ट्रियसभा उपाध्यक्ष भएपछि पहिलो पटक सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्यालले राष्ट्रपति, उपराष्ट्रपतिले सबैको अभिभावकीय भूमिका खेल्नुपर्ने बताइन् । नागरिकता विधेयक दुई–दुई पटक पठाउँदा पनि रोक्नु पीडादायक भएको उनको भनाइ छ ।
राष्ट्रपति पार्टीभन्दा माथि उठ्नुपर्ने भन्दै अर्यालले भनिन्, ‘नयाँ हिसाबले सोचेर, भनेर एकचोटी फर्काउनुभयो, ठीक छ । दोस्रो पटक आइसकेपछि उहाँ त संवैधानिक पदमा रहेको व्यक्ति हो नि । मैले यहाँ डिक्टेट गर्न मिल्छ त ? मिल्दैन नि ।’
‘उहाँ सधैं एमालेको मात्र राष्ट्रपति भइराख्नुभयो । त्यही विधेयक हुबहु अध्यादेशका रुपमा आएको बेला ओके गर्नुभयो । कानुन बनेर जाँदा रिजेक्ट गर्नु त भएन नि !’
उनले राष्ट्रियसभाको उपाध्यक्ष रहँदा आफ्नो भूमिका सन्तुलित हुन नसके सजग गराउन आग्रह गरिन् । आफूभन्दा माथि राष्ट्रियसभा अध्यक्ष भएकाले क्रस गरेर हस्तक्षेपकारी भूमिका नखेल्ने भन्दै उनले भनिन्, ‘मेरो मर्यादामा रहेर आफ्नो भूमिका बढाउन सक्छु ।’