इलाम – इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ ।समिति नै गठन गरेर छानबिन सुरु गरिएको हो । सञ्चारमाध्यममा कैदीहरुले कारागारभित्र नै मदिरा सेवन गर्दै गरेको भिडिओ सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो । समितिले काम थालिसकेको संयोजक थापाले बताउनुभयो । भिडिओ कहिलेको हो र को को व्यक्ति यसमा संलग्न थिए भन्ने विषयमा छानबिन हुने र आवश्यक कारबाही अगाडि बढाइने बताइएको छ ।
कानूनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न नपाइने भए पनि कारागारभित्र खुलेआम सो कार्य भइरहेको भिडिओ बाहिरिएको हो । इलाम कारागारमा भने कानुनले वर्जित गरेका मदिरा सेवन, जुवातास तथा मोबाइल फोन समेतको प्रयोग हुने गरेको र यसमा कर्मचारीको समेत संलग्नता रहेको शंका गरिएको छ ।
जेलर सुमित मगरले उक्त भिडिओ कारागारभित्रकै रहेको स्वीकार गर्नुभयो । उहाँले यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदीबन्दी अहिले पनि यही रहेको तथा केही छुटेका र सरुवा भएर गइसकेको बताउनुभयो । कारागारको क्षमता एक सय २५ जना क्षमताको भए पनि हाल यहाँ दुई सय ८० छन् ।