चितवन – भरतपुर महानगरपालिका- ३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका युवाको उद्धार भएको छ ।
खैरहनी नगरपालिका- ९ बस्ने २० वर्षीय मनिष महतो उक्त नदीमा हाम फालेपछि खोजीमा खटिएको सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको हो ।
हाम फालेको जनाकारी पाएलगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल इमिडियट रेस्पोन्स टीम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थलभन्दा करिब १ किलोमिटर तल नदीको बीचबाट जीवितै उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार उद्धारपश्चात उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको थियो ।