काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने भएका छन् । अहिले राष्ट्रपति निर्वाचनको तयारी भइरहेकाले त्यसपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले यसअघि सरकारलाई समर्थन गरेका केहि दलहरुले समर्थन फिर्ता लिइसकेको अवस्थामा संवैधानिक र कानुनी व्यवस्थाअनुसार प्रधानमन्त्रीले समयभित्रै विश्वासको मत लिने बताइन् ।
उनले राष्ट्रपति चुनाव नजिक आइरहेको अवस्थामा त्यसपछि मात्रै विश्वासको मत लिनका लागि तयारी भएको बताइन् । प्रवक्ता शर्माले राष्ट्रपति चुनावपछि मात्रै मन्त्रीमण्डल पुनर्गठन हुने जानकारी दिइन् ।मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले जनयुद्ध र जनआन्दोलनका क्रममा मृत्यु भइ सहिद घोषणा भइ राजपत्रमा नामावली प्रकाशित हुन बाँकी रहेका सहिदहरुको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिइन् ।