निर्माण व्यवसायीमा एकरुपताको खाँचो छ : मन्त्री पाण्डे

एटुजेड समाचार

चितवन – सहरी विकासमन्त्री विक्रम पाण्डेले निर्माण व्यवसायीहरूमा एकता र एकरुपताको खाँचो रहेको बताएका छन् । निर्माण व्यवसायी सङ्घ चितवनको २९औँ वार्षिक साधारणसभामा उहाँले व्यवसायीलाई एक भएर समयमा राम्रो काम गर्न निर्देशन दिए ।

व्यवसायी एकजुट हुन नसक्दा निर्माण व्यवसायीको समस्या समाधान हुन नसकेको बताउँदै उनले अहिले साना व्यवसायीमा समस्या देखिएको बताए । उनले भने, “महासङ्घले सबै व्यवसायीलाई साना–ठूला सबैलाई समानरूपमा हेर्नुपर्छ ।”

समयमा गुणस्तरीय काम गरे राज्यले सहयोग गर्ने विश्वास दिलाउँदै उनले व्यवसायीलाई भने, “गुणस्तरीय काम गर्नुहोस्, समयमा काम सक्नुहोस् र कसैसँग नझुक्नुस् ।” नेपालमा देखिएको आर्थिक समस्यालाई सन्तुलन राख्नका लागि व्यवसायी र सरकार एक ठाउँमा बसेर सङकट समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले व्यवसायी आत्तिनुपर्ने अवस्था नरहेको बताए । विश्वमा देखिएको आर्थिक मन्दीको असर नेपालमा पनि देखिएको बताउँदै उनले प्रदेश सरकारले चालु पुँजीमा ३० प्रतिशत कटौती गरेको जानकारी दिए । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू