काठमाडौँ – ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । बिहीबार दिउँसो सांसद भण्डारीलाई श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो । मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उनको उपचार हुने भण्डारीका स्वकीय सचिव भुवन भुसालले जानकारी दिए ।
भण्डारीलाई मुम्बईसम्म पुर्याउनका लागि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको ‘मेडिकल एयर इभ्याक्युएसन’ टोली संलग्न छ । सघन उपचार विशेषज्ञ डा. प्रदीप तिवारीको नेतृत्वको मेडिकल टिमले यात्राभर भण्डारीको निगरानी राख्ने छ । स्वास्थ्यकर्मीहरूको उक्त टोलीमा नर्भिक अस्पतालकै डा. बृहस्पति केसी, डा. रोशन शर्मा तथा पारामेडिक्सहरू दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन् ।
चिकित्सकहरूको सल्लाहबमोजिम सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो । भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान किर्तिपुर अस्पतालका चिकित्सकहरुले सिफारिस गरेका थिए ।
‘माननीयज्यूको अनुहार, दुवै हात र दुवै गोडाहरुमा गरी २५–३० प्रतिशत जलन भएको छ । श्वासनलीमा तातोहावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
स्रोतका अनुसार सांसद भण्डारीको अनुहारमा आगोले पोलेका कारण त्यसले श्वासनली समेत असर पुर्याएको छ । जसका कारण उनलाई श्वासप्रस्वासमा अप्ठेरो नहोस् भनेर ‘इन्ट्युबेसन’ गरी मेकानिकल भेन्टिलेटरको सहायतामा श्वासप्रस्वास कायम गरिएको छ । ‘फेसिएल बर्न भएका कारण श्वासनलीमा पनि असर गरेको छ । त्यसले गर्दा कुनैपनि बेला श्वास नलीमा सुन्निएर श्वासप्रस्वास बन्द हुने अवस्था आउन सक्छ,’ स्रोतले भने, ‘यात्राको क्रममा कुनैपनि जोखिम नहोस् भनेर उहाँलाई भेन्टिलेटरको सहायता दिइएको हो ।’


सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ । काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।