सात वर्षपछि खुल्यो जयबागेश्वरी

काठमाडौँ — पशुपति क्षेत्रको मुख्य शक्तिपीठ जयबागेश्वरी मन्दिर ७ वर्षपछि सर्वसाधारणका लागि खुला भएको छ । २०७२ सालको भुइँचालोले क्षतिग्रस्त मन्दिरको पुनर्निर्माण सकिएपछि मन्दिर खुला भएको हो ।
पशुपति क्षेत्रमा आउने भक्तजन यो मन्दिरमा पनि आउने गर्छन्,’ जयबागेश्वरी टोल सुधार समिति अध्यक्ष छत्रानन्द वैद्यले भने, ‘तर, मन्दिर जीर्ण भएपछि यहाँ पूजा गर्न सर्वसाधारण आउँदैनथे ।’
मन्दिरमा नित्य पूजा भने नियमित थियो । जयबागेश्वरीलाई लिच्छविकाल र मल्लकाल बीचका राजाको कुलदेवता मानिन्छ । मन्दिर पुनर्निर्माणसँगै भक्तजनको चहलपहल बढेको जयबागेश्वरी भण्डार तहबिलका पचली नाइके हरिओम वैद्यले बताए । ‘पहिला पनि कसैलाई निषेध त गरिएको थिएन । अहिले मन्दिर नै नयाँ जस्तो अनुभव छ,’ उनले भने । जयबागेश्वरी तान्त्रिक विधिबाट पूजा हुने मन्दिर हो । चार पुजारीले पालैपालो पूजा गर्छन् ।
नियमित पूजाबाहेक जयबागेश्वरीमा वर्षैभरि विभिन्न पर्व र उत्सव पनि हुने गरेको छ । साउन शुक्ल नवमीको दिनबाट विशेष पूजा सुरु हुन्छ । नवमीका दिन पवित्रारोहण गरिन्छ । मार्गशुक्ल नवमीको राती मुलडबली अगाडि बोडेगाउँको नवदुर्गा नाच हुन्छ । बोडेको नवदुर्गालाई जयबागेश्वरीको मितिनी मानेर पूजा गर्ने परम्परा रहेको छत्रानन्दले बताए । पौष शुक्ल त्रयोदशीका दिनदेखि महिना दिनसम्म बिहानमा मकलमा आगो राखी देवीलाई आगो ताप्ने कार्यक्रमसमेत हुन्छ । ‘मन्दिर जीर्ण हुँदा पर्वको रौनक नै घटेको थियो,’ वैद्यले भने, ‘यी अवसरमा हुने भजन कीर्तनमा समेत बाधा पुगेको थियो ।’
पशुपतिनाथको जतिकै अचल सम्पत्ति भएको मानिने यो मन्दिर प्रचीनमध्येमा पर्छ । पशुपतिनाथका वरिपरि ९ वटा शक्तिपीठ छन् । तीमध्ये एक जयबागेश्वरी पनि भएको कुलचन्द्र कोइरालाको पुस्तक आराध्यदेव श्रीपशुपतिनाथ पुस्तकमा उल्लेख छ । जयबागेश्वरीको मन्दिरमा प्रत्येक १२ वर्षमा कलेबर फेर्ने गरिन्छ । कलेबर फेर्दा यहाँका मूर्ति र प्रत्येक टुँडालका चित्रसमेत फेरिन्छन् । १२ वर्षमा फेर्नुपर्ने कलेबर अहिले अगाडि नै फेरिएको छ । ‘मन्दिर पुनर्निर्माण भएकाले कलेबर पनि चाँडै फेरियो,’ वैद्यले भने, ‘दुई वर्षपछि फेरि कलेबर फेर्नुपर्छ ।’
पहिला जयबागेश्वरीको मूर्ति थिएन । देवमाला वंशावलीका अनुसार पछि राजा वृषदेवको पालामा जयबागेश्वरी क्षेत्रमा ग्वल नाम गरेको सहर बसाले । राजा शिवदेवको पालामा जयबागेश्वरीको चञ्चल मूर्ति बनाएर त्यसमा चित्रकारी गरेको वंशावलीमा उल्लेख छ । पूजाका लागि आचार्यलाई पुजारी नियुक्त गरे । ‘राजा अंशुवर्माले प्रत्येक वर्ष रङरोगन गर्न मुस्किल छ भनेर १२ वर्षमा कलेबर फेर्ने चलन बसाइदिए,’ देवमाला वंशावलीमा उल्लेख छ । जयबागेश्वरीलाई सरस्वतीकै अर्को रूप मानिन्छ ।
प्राचीन मन्दिर पुनर्निर्माणका क्रममा विवाद पनि भएको थियो । चुनासुर्कीलगायतका निर्माण सामग्रीबाट बनाउन लागेपछि विरोध भएको थियो । पछि पशुपति क्षेत्र विकास कोषले पुरातन सामग्रीकै प्रयोग गरेर पुनर्निर्माण गराएको हो ।
तपाइँको प्रतिक्रिया