चितवन भेटेरान कप : सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लाग्यो

एटुजेड समाचार

चितवन,-स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ ।

आज सोमबार चार टोली सेमिफाइनलमा प्रवेश गरेका हुन् । पहिलो खेलमा बर्दघाट भेटेरान नवलपरासीले आयोजक चितवन भेटेरान निलोलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा बर्दघाट टाईब्रेकरमा विजयी भयो ।

 

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको आठौं मिनेटमा तोपबहादुर महतोको गोलबाट बर्दघाटले अग्रता लिएको थियो । खेलको अन्तिम मिनेटमा रमेश थापाले चितवन निलोका लागि बराबरी गोल फर्काए ।

निर्धारित समयमा बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा बर्दघाट ४–३ ले विजयी भयो । बर्दघाटका गोलरक्षक बिष्णुप्रसाद पौडेल म्यान अद दि म्याच भए ।

 

आजकै दोस्रो खेलमा फ्रिडम फाइटर ठमेलले कलकत्ता भेटेरान भारतविरुद्ध ४–० को सहज जित निकाल्यो । ठमेलको जितमा विकर्ण श्रेष्ठ र कन्यसुब्बु गुरुङले समान दुई–दुई गोल गरे ।

 

खेलको आठौं मिनेटमा विकर्णले गोल गर्दै ठमेललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १९ औं मिनेटमा विकर्णले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । लगत्तै २० औं मिनेटमा कन्यले गोल गरेपछि ठमेलले ३–०को अग्रता लियो ।

खेलको अतिरिक्त समयमा कन्यले व्यक्तिगत दोस्रो गोल गरेपछि ठमेलले ४–० को सहज जित हात पा¥यो । उनी नै म्यान अफ दि म्याच चुनिए ।

तेस्रो खेलमा एक्स महेन्द्र पुलिस क्लबले चाबहिल भेटेरानविरुद्ध बाजी मा¥यो । प्रतिस्पर्धात्मक खेलमा पुलिस टाईब्रेकरमा विजयी भयो । दोस्रो हाफको चौथो मिनेटमा विजय श्रेष्ठले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर १२ औं मिनेटमा जगत लामाले चाबहिलका लागि बराबरी गोल फर्काए ।

निर्धारित समयमा १ –१ गोल भएपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा पुलिस ५(३ ले विजयी भयो । पुलिसका विजय म्यान अफ दि म्याच घोषित भए ।

चौथो तथा अन्तिम खेलमा थापा गाउँ सुधार समिति भेटेरानले आयोजक चितवन भेटेरान रातोलाई निराश बनायो । निर्धारित समय गोलरहित बराबारीमा टुङ्गिएपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा थापा गाउँलाई ३–२ ले विजयी भयो । थापा गाउँका गोलरक्षक दीपक डंगोलले चितवनको तीन प्रहार विफल बनाए । उनी नै म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगितामा बुधवार सेमिफाइनल चरणको खेलहरु हुनेछन् । पहिलो सेमिफाइनलमा बर्दघाट भेटेरान नवलपरासी र साविक विजेता फ्रिडम फाइटर ठमेल भिड्नेछन् । खेल दिउँसो २ बजे हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा दिउँसो ३ः३० बजे एक्स महेन्द्र पुलिस क्लब र थापा गाउँ सुधार समिति भिड्नेछन् ।

चितवन भेटेरान क्लबको आयोजना तथा नारायणगढ लेडी जेसिजको सह आयोजनामा सुरु भएको प्रतियोगिता फागुन ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू