द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्दै

एटुजेड समाचार

काठमाडौँ — द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्रा याक एन्ड यति होटलमा आइपुगेका छन् ।

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने औपचारिक भ्रमणमा सोमबार काठमाडौं आइपुगेका हुन् । उनलाई परराष्ट्र सचिव पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार त्यस लगतै उनीहरु याक एन्ड यति होटलमा द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक आइपुगेका हुन् । अब पौड्याल र क्वात्राले नेतृत्व गरेको दुई मुलुकको टोलीहरुले उक्त संयन्त्रको बैठकमा सहभागी हुने छन् ।

क्वात्रा र परराष्ट्र सचिव भरतराज पौड्यालबीच दुई मुलुकका विभिन्न आयाममाथि छलफल हुने बताइएको छ । दुई मुलुकबीच प्रशासनिक तहको सबैभन्दा उच्च संयन्त्रको बैठकपछि विदेश सचिव क्वात्राले परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस्तै, क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । नेपालका लागि पूर्वभारतीय राजदूतसमेत रहेका क्वात्रा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरका विश्वास पात्र हुन् । उनले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तो समेत दिने उच्च स्रोतले बतायो ।

क्वात्रा मंगलबार फर्कने कार्यक्रम छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू