स्वास्थ्यमन्त्रीद्वारा क्यान्सर अस्पतालमा अत्याधुनिक रेडियोथेरापी लिन्याक सेकाई मेशिनको उद्घाटन
चितवन – क्यान्सर अस्पतालमा अत्याधुनिक रेडियोथेरापी लिन्याक सेकाई मेशिनको उद्घाटन भएको छ । विश्व क्यान्सर दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले वी पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक रेडियोथेरापी लिन्याक (true beam) सेकाई मेशिनको एक भव्य कार्यक्रमको बिच उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै मन्त्री गिरीले क्यान्सर अस्पतालमा ताप्लेजुङ्गदेखि दार्चुलासम्मका दुर दराजका क्यान्सरका विपन्न बिरामीको उपचार भइरहेको बताउँदै अस्पतालको सेवा वृद्धि एवम् विस्तारमा आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले कोभिड समयमा अस्पतालका कर्मचारीले देखाएको सेवा प्रदानको प्रतिबद्धताको जति प्रसंशा गरे पनि कम हुने बताए। उनले अस्पतालमा बिरामीको उपचारमा सबै कर्मचारी पारदर्शी एवम् दत्त चित्त भएर लाग्न निर्देशन पनि दिएका थिए।
उक्त कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अस्पतालको सेवाको शुरुवातदेखिका प्रगति विवरण एवम् कोभिडका समयमा अस्पतालका कर्मचारीले देखाएको सेवा प्रदानको प्रतिबद्धताको प्रशंसा गरे।
उनले अस्पतालमा आवश्यक उपकरण एवम् पूर्वाधार विकास एवम् क्यान्सर प्रतिष्ठान निर्माणका लागि माननीय मन्त्रीसमक्ष अनुरोध गरे।
अस्पतालका उप निर्देशक डा. कृष्ण सागर शर्माले वार्षिक सवा दुई अर्बको औषधि र स्वास्थ्य सामाग्री अस्पतालले वितरण गरेको बताउँदै रेनियल फेलियर क्यान्सर बिरामीको डायलासिस मेशिन जडान अन्तिम चरणमा पुगेको बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, चाइनिज मेडिकल टिमका प्रमुख, भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेल, मेसु डाक्टर कृष्ण प्रसाद पौडेल लगायत अतिथिहरु उपस्थित थिए।
तपाइँको प्रतिक्रिया