फोहरलाई मोहर बनाउने प्रयासमा बर्दघाट

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले माघ १ गते बाट फोहर व्यवस्थापन गर्ने अभियान सञ्चालन गरेको छ।नगरले श्रोतमै कुहिने र नकुहिने फोहरको वर्गीकरण गरि फोहर सङ्कलन सुरु गरेको हो।
नगरपालिकाले विशेष अभियान चलाएरै टोल विकास संस्था,स्थानीय र सरोकारवालाहरूको समन्वय र सहभागितामा प्रत्येक महिनाको पहिलो र अन्तिम शनिबार नगर सरसफाइ कार्यक्रम सञ्चालन गर्ने गरेको छ।सङ्कलित फोहरलाई निश्चित क्षेत्रमा लगेर व्यवस्थापन गर्ने गरिएको भए पनि अब भने नगरले फोहरलाई मोहरमा परिणत गर्न लागेको हो।नगरले वडा नम्बर ४ मा रहेको पारिजात बन क्षेत्रमा व्यवस्थित डम्पिङ साइड निर्माण गर्न लागेको छ।
संघीय सरकारको रु दुई करोड लागत अनुदानमा प्रशोधन सहितको डम्पिङ साइड निर्माण गर्न थालिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।


कुहिने फोहरलाई कम्पोष्ट मलको रुपमा तयार गरि नगर भित्रकै कृषकलाई उपलब्ध गराउने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताएका छन। नकुहिने फोहरको वर्गीकरण गरी कच्चापदार्थको रुपमा बिक्रिबितरण गरिने र त्यसको खरिदका लागि विभिन्न फर्महरू समेत सम्पर्कमा आउन थालेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिए ।
प्राय स्थानीय तहहरूमा फोहर व्यवस्थापन चुनौतीको विषय बनिरहेको अवस्थामा बर्दघाट नगरपालिका भने व्यवस्थापनमा जुटेको छ।
नगरमा आन्तरिक श्रोतको वृद्धि गर्न यसले टेवा पुर्याउने उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताए।केही स्थानीयले भने नगरले तोकेको डम्पिङ साइड निर्माण स्थलको दीर्घकालीन व्यवस्थापनका लागि उक्त क्षेत्रको विकल्प खोजिनु पर्ने माग राख्दै आई रहेका छन् । डम्पिङ साइड निर्माणका लागि पटक पटक केन्द्रबाट आएको रकम फ्रिज हुने गरेकाले यस पटक भने नगर यस तर्फ तदारुकताका साथ अघि बढेको छ।
तपाइँको प्रतिक्रिया