आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा ज्यान गयो

काठमाण्डाै, सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा ज्यान गएको छ । कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे उहाँकाे ज्यान गएको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले जानकारी दिए । इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले हिजो आफैँले आफ्नो शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाएर उद्धार गरी उपचारका लागि बर्न अस्पताल लगे पनि शरीरको धेरैजसो भाग जलिसकेकाले बचाउन नसकिएको डाक्टर किरण नकर्मीले बताए। आफूलाई आगो लगाउनुअघि आचार्यले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू ठूलो आर्थिक सङ्कटमा फसेको बताएका थिए ।
स्टाटसमा उनले आफूले आत्मदाह गर्नुपर्ने कारणसहित सङ्घर्ष र भोगाइबारे उल्लेख गरेका थिए। जीवनमा गरेका अनेक प्रयास असफल भएपछि आत्मदाहको कदम चाल्नुपरेको उनले लेखेको स्टाटसमा उल्लेख छ । आफूले पढ्दा, जागिर खाँदा, व्यापार गर्दा वैदेशिक रोजगारीमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नु परेका समस्याबारे उनले उल्लेख गरेका थिए ।


आफू विद्यार्थी छँदा २०६७ सालमा ब्रेन टयुमर भएर बुबाको निधन भएको र त्यसपछि काठमाण्डौमा रहेर एउटा निजी विद्यालय र ठमेलका ट्राभल एजेन्सीमा काम गरेर गुजारा चलाउन थालेको उनले स्टाटसमा लेखेका छन् । इलाममा रहेको पुर्ख्याैली घर बेचेर काठमाण्डौको बूढानीलकण्ठमा घर बनाएको तर ट्राभल एजेन्सीमा उधारो कारोबार धेरै हुँदा आफूलाई ऋणमाथि ऋण लागेको आचार्यले बताएका थिए । उनले ऋण तिर्नका लागि आफ्नी श्रीमतीलाई सहयोग गरिदिन स्टाटसमार्फत् नै आग्रह गरेका छन् । आचार्यका श्रीमती र दुई छोरी छन् ।
तपाइँको प्रतिक्रिया