प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहनुहुने सदस्यहरूको नामावलीसहित प्रस्तुत गर्नु भएको प्रस्ताव बैठकको सर्वसम्मतिले पारित गरेको हो । उक्त, प्रस्तावलाई सांसदहरु रामकृष्ण यादव र ऋषिकेश पोखरेलले समर्थन गरेका थिए ।
समितिको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिको गठन, कामकारबाही र अन्य कुरा नियमित गर्न तथा नियमित व्यवस्थापकीय कार्य गर्दा अपनाउनु पर्ने कार्यका लागि नेपालको संविधान अनुरुप प्रतिनिधि सभाको नियमावली मस्यौदा तयार गर्ने र नियमावली पारित गर्ने सम्मका अवस्थामा आइपर्ने सम्पूर्ण कार्यहरू गर्ने कार्यक्षेत्र रहेको छ । समितिलाई प्रतिनिधि सभा नियमावली मस्यौदा तयार गर्न १५ दिनको समयावधि तोकिएको छ ।


आजको बैठकमा सभामुख देवराज घिमिरेले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम हेरफेरका विषयमा जानकारी गराएका छन।
तपाइँको प्रतिक्रिया