काठमाडौँ — चिकित्सकहरूले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनलाई कलेजो प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् । कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिइसकेको हुनाले उनको अबको उपचार प्रत्यारोपण नै रहेको सुमेरु सिटी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए ।
नेता पुन हाल ललितपुरको सुमेरु अस्पतालमा उपचाररत छन् । विगत १२ वर्षदेखि पुनको उपचार गर्दै आइरहेका डा. शर्माले इकान्तिपुरसँग भने–‘उनको कलेजोमा कमजोरीपन देखिएको छ । पेटमा आइसकेको हुनाले प्रत्यारोपण नै राम्रो विकल्प हो ।’



डा. शर्माका अनुसार नेपालमा कलेजो प्रत्यारोपण त्यति सहज नभएकाले भारत वा चीनमा कहाँ गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । ‘कता प्रत्यारोपण गर्ने भन्ने छलफल भइरहेको छ । नेपालमै पनि हुन्छ तर दक्षताको पनि कुरा छ। सर्पोटिभ ट्रिटमेन्ट विदेश र यहाँ फरक छैन । नेपालमै उपलब्ध छ,’ उनले भने ।
पुनले यसअघि थाइल्यान्ड र चीनमा उपचार गराउँदै आएका थिए । केही दिनअघि उनी आफ्नो निर्वाचन क्षेत्र रोल्पामा पुगेका थिए । त्यहाँ कार्यक्रमकै सिलसिलामा उनलाई अहसज भएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको थियो ।
सुमेरु अस्पतालमा उपचाररत पुनसँग बुधबारबाट भेटघाट बन्द गरिएको उनका सहयोगी सन्तोष पुनले उल्लेख गरेका छन् । ‘नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे चासो लिनु हुने र स्वास्थ लाभको कामना गर्नु हुने सबै लाई विशेष धन्यवाद,स्वास्थमा बारम्बार आएको समस्या र इन्फेक्सन को उच्च जोखिमलाइ मध्यनजर गर्दै अस्पतालको विशेष आग्रहबमोजिम केही समयका लागि भेटघाट पूर्ण रुपमा बन्द गरिएको जानकारी गराउँदछौं’ पुनले भनेका छन् ।
नेता पुनलाई भेट्न मंगलबार उपराष्ट्रपति नन्दबहादुर पुन अस्पताल पुगेका थिए । बुधबार उपप्रधानमन्त्री विष्णु पौडेल मन्त्रीहरू अमनलाल मोदी, सुदन किराती, पूर्व प्रधानमन्त्री माधव नेपाल र पूर्वमन्त्री देवेन्द्र पौडेल अस्पताल पुगेका थिए ।
पूर्वमन्त्री वर्षमान पुन पछिल्लो समय चीनमा उपचार गराएर पुस ५ गते मंगलबार स्वदेश फर्किएका थिए । वंशाणुगत जन्डिसपीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरूको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए । उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको थियो ।
पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ । यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्यान्ड र पछि चीनमा उपचार गरिएको थियो ।