काठमाडौँ — डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट ललितपुर-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. कार्कीलाई यसअघि मन्त्री नै बनाउने हल्ला चले पनि स्वास्थ्य राज्यमन्त्री बनाइने भएको हो । स्वास्थ्यमन्त्री भने पर्वतबाट निर्वाचित एमाले सांसद पदम गिरी बन्ने भएका छन् ।
डा. कार्की ललितपुर-३ मा तत्कालीन ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उम्मेदवार पम्फा भुसाल र एमाले उम्मेदवार अमृत खड्कालाई हराउँदै निर्वाचित भएकी थिइन् ।
डा.कार्की ‘स्वस्थ नेपाली सुखी नेपाली’ नारासहित मतदातामाझ पुगेकी थिइन् । कार्कीको उम्मेदवारी सुरुमा निर्वाचन आयोगले खारेज गरेको थियो ।
नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको हो । डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार आन्दोलनमा समेत सक्रिय रहेकी कार्की जनरल सर्जन हुन् ।
रास्वपाबाट सभापति रवि लामिछानेसहित ३ जना मन्त्री र १ जना राज्यमन्त्री बन्ने भएका हुन् । सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बनिसकेका छन् भने रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने भएको छ ।

