चितवन – चलचित्र ह्यारी की प्यारीको मोफसल टुर चितवनबाट सुरु भएको छ । माघ २० गतेदेखि देशव्यापी सञ्चालनमा आउन लागेको चलचित्रको युनिट चितवन आइपुगेको हो ।
चलचित्रमा नायकको भूमिकामा रहेका कलाकार जितु नेपालले परीक्षा राम्ररी दिएकाले राम्रो अंक सहित पास हुने बताए । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “कथा अनुसारको पात्रका रुपमा आएको छु, फरक लुक्स र फरक चरित्रमा दर्शकले हेर्न पाउनेछन् ।” उनले हास्यकलाकारको भूमिका भन्दा पनि गहन कथामा अभिनय गरेको दाबी गरे ।
सहअभिनेताका रुपमा धेरै फिल्मबाट अवार्ड पाएपनि मूख्य भूमिकामा रहेको ह्यारी की प्यारीले आँफुलाई युर्टन गर्न सक्ने अपेक्षा लिएको बताए ।
नायिका साम्रात्री राज्य लक्ष्मी शाहले रोमान्टिक तथा कमेडियन चलचित्र भएको बताइन् । “यो फिल्म आँफैमा धेरै राम्रो बनेको छ”, उनले भनिन्, “हामीले मिहेनत गरेका छौँ, अब दर्शकको मन जित्नमात्रै बाँकी छ ।”
चलचित्रको मुख्य भूमिकामा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, चचिर्त हास्यकलाकार जितु नेपाल छन् । विजय बराल, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतको अभिनय छ ।
चर्चित गीतकार, निर्माता तथा चिकित्सक डा. भोला रिजालका छोरा डा. कपिल रिजालले निर्देशन गरेका छन् । दन्त चिकित्सक रिजालको यो पहिलो चलचित्र हो ।
निर्देशक डा. कपिल रिजालले चलचित्रलाई नेपाली बाहेकका अन्य ४ भाषामा समेत डबिङ गरी विदेशमा समेत प्रर्दशन गर्ने तयारीमा रहेको बताए ।
हिन्दी, पञ्जाबी, मराठी, बंगाली भाषामा चलचित्र डबिङ भैसकेको बताए । पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीले लेखेका हुन् ।
डा. भोला रिजालको गीत रचना रहेको छ । छायाँकन गरेका सुदीप बरालले पर्वत र काठ्माण्डौका रमणीय दृश्यहरु समावेश गरिएको बताए ।