नारायणगढ – मेड इन नेपाल एक्स्पो २०७९ को अवलोकन गर्नेको संख्या दैनिक बढ्दै गएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बिहीबार एक्स्पोको अवलोकन गरेपछि शुक्रबार अवलोकनकर्ताको संख्या बढेको नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए ।
एक्स्पोमा नेपाली उत्पादनको प्रदर्शन गरिएको छ । बिहीबारदेखि एक्स्पोमा उद्यमीहरु बीच छलफल तथा अन्तरक्रिया पनि हुन थालेको छ । शुक्रबार महिला उद्यमीहरु बीच अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा सहभागी महिला उद्यमीले व्यवसायमा सम्भावना र चुनौती दुवै रहेको बताएका थिए ।



यमाहा शो रुम भरतपुरकी प्रोप्राइटर सुनिता कर्मचार्यले हातमा गन्न सकिने महिला मात्रै यस व्यवसायमा लागेको बताइन् । परिवारको सहयोग पाए जस्तोसुकै व्यवसायमा महिला पनि सफल बन्न सक्ने उनी बताउँछिन् । ‘मेरो विचारमा पुरुषले गर्न सक्ने अनि महिलाले गर्न नसक्ने भन्ने केहि हुँदैन’, उनी भन्छिन्, ‘व्यवसाय गर्न चुनौती छ तर सम्भावना पनि छ । महिला भनेर आत्मबल घटाउनु हुँदैन ।’
व्यवसाय गर्नको लागि सरकारले पनि वातावरण बनाउनुपर्ने बताउँछिन् । कोभिड महामारीपछि व्यवसाय सञ्चालनमा समस्या आएको भन्दै उनले व्यवसायी नरहेर सरकार रहन नसक्ने बताइन् । बैंकले बढाएको व्याजदरका कारण व्यवसायी समस्यामा परेको उनको भनाइ थियो ।
बिआईसी टेक्नोलोजी–टिगकी संस्थापक प्राथना साखा १९ वर्षको उमेरदेखि नै हेल्मेट व्यवसायमा लागेकी हुन् । यस व्यवसायमा लाग्दै गर्दा सुरुमा परिवार नै सशंकित बनेको उनले बताइन् । ‘यो जोखिमको काम हो । यो काम गर्न सक्दिनस् भन्नुहुन्थ्यो’, उनी भन्छिन्, ‘तर मैले परिवारलाई कन्भिन्स गर्न सकेँ । नेपालमै पनि व्यवसाय गरेर सफल भइन्छ भन्ने मलाई लाग्छ ।’
नव उद्यमीलाई आइपर्ने चुनौतिको हल गर्न नेपाली युवा उद्यमी मञ्चले पनि सहयोग गर्ने गरेको उनी बताउँछिन् । नेपाली उत्पादनको प्रबद्र्धन गर्न र उद्यमीलाई समस्याबाट निकाल्न उद्यमी मञ्च राम्रो प्लेटफर्म भएको उनले बताइन् ।
बकेना बालबाटिकाकी संस्थापक प्रन्जना श्रेष्ठले व्यवसाय गर्दा वर्तमान अवस्थालाई मात्रै हेर्न नहुने बताउँछिन् । योजना अनुसार लगानी हुन सके सफल उद्यमी बन्न सकिने उनले बताइन् । व्यवसायमा आउन सक्ने चुनौतीको पनि आँकलन गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रमको सञ्चारकर्मी प्रतिमा सिलवालले सहजिकरण गरेकी थिइन् ।