एमाले – माओवादी गठबन्धन तोड्न कांग्रेस नेताहरुको दौडधूप
काठमाडौं – कांग्रेसका केही नेताहरुले प्रचण्डलाई विश्वासको मत पाउनबाट रोक्न प्रयास थालेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही नेताले एमाले–माओवादी इतरको गठबन्धन बनाउने प्रयास समेत थालेका छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिनु पर्नेछ ।
राप्रपाको साथ पाएमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने र नयाँ समीकरण बन्नसक्ने सम्भावना पनि रहेको कांग्रेस नेताहरुको दाबी छ ।
यो कांग्रेसले सोचेजति सहज भने छैन । किनकि त्यसका लागि सरकारमै सहभागी दललाई मत दिनबाट रोक्नुपर्छ । अहिलेको प्रतिनिधिसभामा एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र जनमत पार्टीका ६ सांसद छन् । सबैले मत दिए १३७ हुन्छ ।
यसैक्रममा बिहीबार कांग्रेस सभापति देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि संवाद भएको कांग्रेस सम्वद्ध स्रोतको दाबी छ । लिङ्देन निकटहरु भने यसलाई स्वीकार गर्दैनन् ।
कांग्रेससम्वद्ध स्रोतका अनुसार अहिले कांग्रेसको पहिलो प्रयास भनेको प्रचण्डलाई विश्वासको मत पाउनबाट रोक्नु हो ।
स्वतन्त्र सांसदद्वय प्रभु साह र अमरेशकुमार सिंहले साथ दिनासाथ प्रचण्डले विश्वासको मत पाउनेछन् ।
स्रोतका अनुुसार नयाँ गठबन्धन बनाउने प्रयासमा एकीकृत समाजवादीका नेताहरु सकारात्मक छन् । सरकारमै गएको जनमत र प्रधानमन्त्रीमा दाबी पेश गर्दा समर्थन जनाएको नागरिक उन्मुक्तिलाई आफूतिर ल्याउन सकिने नयाँ गठबन्धन बनाउन लागेका कांग्रेस नेताहरुको विश्वासमा छन् । यो अवस्थामा राप्रपाले मात्र साथ दियो भने पनि प्रचण्डले विश्वासको मत पाउने छैनन् ।
तपाइँको प्रतिक्रिया