भुसाललाई पार्टीमा भित्र्याउने माधव नेपालको तयारी

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेता घनश्याम भुसालबीच भेटवार्ता भएको छ। एमाले परित्याग गरेका भुसाललाई अध्यक्ष नेपालले आफ्नो पार्टीमा आबद्ध हुन आग्रह गरेका छन्।
बुधबार कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपालले भुसाललाई आफूहरूसँगै अगाडि बढ्न प्रस्ताव गरेको स्रोतले बतायो। पार्टीमा राम्रो पोर्टफोलियोमा बसेर काम गर्न नेता भुसाललाई अध्यक्ष नेपालले प्रस्ताव गरेको स्रोतको भनाइ छ।
मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले पार्टी परित्याग गर्दै रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार बनेका थिए। स्वतन्त्र उम्मेदवार भुसाललाई कांग्रेस नेतृत्वको गठबन्धनले समर्थन गरे पनि एमालेका छबिलाल विश्वकर्मासँग पराजित भएका थिए।


माधव नेपाल नेतृत्वको पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी एकीकरण गर्ने विषयमा अन्तिम तयारी गरेका छन्। संसदमा चौथो ठूलो दल बन्नका लागि दुई पार्टी मर्जरको तयारीमा रहेको स्रोत बताउँछ।
त्यसका लागि दुवै पार्टीले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकीकरण गर्न सकिने निर्णयसमेत गरेको थियो। एकीकृत समाजवादीको दुई दिन चलेको पोलिटव्युरो बैठकले विचार मिल्ने पार्टीसँग एकता गर्न सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
तपाइँको प्रतिक्रिया