एकता दिवस मनाउने पक्षमा रास्वपा, प्रचण्डले ‘एस’ वा ‘नो’ मा जवाफ दिएनन्
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पक्षमा उभिने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्त्वका साथ उठाइरहेको एजेन्डामा रास्वपाले समर्थन गरेको हो ।
रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको योगदानको सम्मान र जनभावनाको कदर गर्दै राष्ट्रिय एकता दिवस मनाउनुपर्ने पक्षमा पार्टी रहेको बताए । सत्तारुढ दलहरूको बैठकमा आफूहरूले यही कोणबाट कुरा राखेको डा। ढकालले जानकारी दिए । तर, यही विषयमा ‘रिजिड’ भएर अडान चाहिँ नलिने उनको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा दिनुपर्ने कुरालाई पार्टी सरकारमा जान मुख्य शर्तका रूपमा अघि सारेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन यो विषयमा सहमति नभए सरकारमा जान थप कुरै अघि नबढ्ने बताउँछन् । तर, प्रधानमन्त्री प्रचण्डले भने अहिलेसम्म मौनता साँधिरहेका छन् ।
केही दिनअघि सत्तारुढ दलहरूको एउटा बैठकमा एकता दिवसलाई लिएर छलफल भएको थियो । स्रोतका अनुसार उक्त छलफलमा उपप्रधानमन्त्री तथा रास्वपा अध्यक्ष रवि लामिछानेले पुस २७ गते सार्वजनिक बिदा दिँदा जनतामा राम्रो सन्देश जाने सुझाव दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले ‘एस’ वा ‘नो’ मा जवाफ दिएनन् । उनले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उनीप्रति आफूहरू पनि सकारात्मक नै रहेको बताए । यद्यपि, सार्वजनिक बिदाको प्रसंगमा केही बोलेनन् ।
तपाइँको प्रतिक्रिया