आज सन्दीप लामिछानेको पुनरावेदन पेसी, आजै फैसलाको सम्भावना

काठमाडौं – बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज (बिहीवार) परेको छ।
पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलहरुको भनाइ छ। गत साताका लागि नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए।
यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो। लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्।


उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो। यस्तै इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको छ। उनीहरूलाई यसअघि नै बोलाउँदा पनि नआएको भन्दै अदालतले त्यही आदेशलाई निरन्तरता दिँदै झिकाउन आदेश दिएको कानुन व्यवसायी घिमिरेले बताए।
उनीहरूको पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न पनि भनिएको छ। सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर दुई पटक बलात्कार गरेको आरोप छ।
तपाइँको प्रतिक्रिया