ट्राफिक नियम उल्लंघनको जरिवाना बढ्यो, कति पुग्यो ?

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको जरिवाना बढाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागु हुने गरी जरिवाना रकम बढाएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
ट्राफिक नियमका १६ शीर्षकमा जरिवाना बढाएको हो। यसअघि यी शीर्षकमा ५०० देखि १५०० रूपैयाँ जरिवाना लाग्दै आएको थियो। तर अहिले अधिकतम १५०० रूपैयाँ मात्रै गराइएको हो। यसअघि यी शीर्षकमा ५०० मात्रै जरिवाना गराइँदै आएको उनले बताए।


२०७५ सालमा ट्राफिक प्रहरीले अधिकतम जरिवाना गर्न सक्नेगरी अधिकार प्रत्यायोजन गरिएको र त्यहीँ अधिकारको प्रयोग गरी जरिवाना रकम बढाइएको उनले बताए। यसरी जरिवाना बढाउँदा ट्राफिक नियमको पालना गरिने र दुर्घटनासमेत न्यूनिकरण हुने उनको भनाइ छ।
मंसिर महिनामा मात्रै ट्राफिक प्रहरीले ५ पटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ६२ जनाको लाइसेन्स नै निलम्बन गर्न यातायात विभागलाई सिफारिस गरेको थियो।
यी हुन् १५०० रुपैयाँ हुने १६ शीर्षक:
१. ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा
२. सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा
३. सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेमा
४. सडकमा गलत साईड तर्फबाट सवारी चलाएमा
५. एकतर्फी सडकमा सो विपरित सवारी चलाएमा
६. अवस्था ठिक नभएको सवारी चलाएमा
७. राति बत्ती नबाली सवारी चलाएमा
८. सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएमा
९. नम्बर प्लेट नराखी सवारी चलाएमा
१०. सिटबेल्ट नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा
११. सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा
१२. लापरवाहीका साथ सवारी चलाएमा
१३. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएमा
१४. लाइसेन्स, ब्लुबुक, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएमा
१५. ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएमा
१६. हर्न बजाउन निषेध गरिएको ठाउँमा हर्न बजाएमा
तपाइँको प्रतिक्रिया